The  तातो Post

कार्यकारी निर्देशक भन्छिन्ः अब यस्तो गल्ती दोहोर्याउँने छैनौ

कृषि टिभीबाट प्रशारण हुँदै आएको ‘कोरोना बिर्साउने गफगाफ’ कार्यक्रम विवादमा परेपछि बन्द गरिएको छ । सो कार्यक्रममाथि आपत्ति जनाउँदै प्रवेश २ को सरकारले संघीय सरकारसँग पत्राचार गरेको थियो ।
कार्यक्रमको गत १ जेठमा प्रशारित एपिसोड विवादमा आएको हो । उक्त एपिसोडमा गोमा पाण्डे होस्टको रुपमा र सुर्य भण्डारी मधेसी चरित्रमा प्रस्तुत भएका थिए । त्यस क्रममा भएका संवादहरुले सिंगै मधेसी समुदायको अपमान र बेइज्यति गरेको भनेर प्रदेश २ को महान्यायधिवक्ता कार्यालयले संघीय सरकारलाई पत्र पठाएको थियो ।
कृषि टिभीकी कार्यकारी निर्देशक लक्ष्मी चौधरीले विवाद उत्पन्न भएपछि यो कार्यक्रमको प्रशारण बन्द गरिएको जानकारी दिइन् । साथै कार्यक्रमकी सञ्चालक गोमा पाण्डेलाई सचेत गराइएको उनले बताइन् ।
‘कार्यक्रम सञ्चालिकाले शब्द चयनमा गल्ति गर्नुभएको हामीले सुरुमै महसुस गरेका थियौं,’ चौधरीले भनिन्, ‘उजुरी आउनु अगाडि नै मैले एक्सन लिइसकेकी थिएँ ।’
चौधरीको निर्देशन अनुसार भोलीपल्टको कार्यक्रममा गोमाले क्षमायाचना गरिन् । कार्यक्रमलाई यूट्यूवबाट पनि हटाइयो । तर, त्यसबीचमा यसका क्लिप्सहरु डाउनलोड गरेर भाइरल बनाइसकिएको थियो । प्रेस काउन्सीलमा उजुरी प¥यो भने प्रदेश २ को सरकारले पनि यसमा आपत्ति जनायो । त्यसपछि प्रस्तोतालाई निलम्बन गर्ने निर्णय लिइएको चौधरीले बताइन् ।
‘कार्यक्रम प्रशारण भएदेखि हामीलाई धम्कीपूर्ण फोन र म्यासेजहरु आउन थाले र अहिलेसम्म आइरहेका छन् । हामी अब यस्तो गल्ति नदोहो¥याउने सबैसँग प्रतिबद्धता जनाउँछौं,’ उनले भनिन् ।
कार्यक्रममा मधेसी चरित्रमा अभिनय गरेका कलाकारको भने गल्ती नभेटिएको उनले बताइन् ।
कृषि क्षेत्रका गतिविधि र जानकारी दिने यस टेलिभिजनले चैतको तेस्रो सातादेखि ‘कोरोना बिर्साउने गफगाफ’ सुरु गरेको थियो । सरकारले लकडाउन थप्दै गएपछि घरभित्र रहेका दर्शकलाई मनोरञ्जन दिनलाउने उद्देश्यले प्रत्येक दिन फरक–फरक अवधारणामा यो कार्यक्रम चलाउने गरिएको थियो ।
मधेसी क्यारेक्टरसँगको गफगाफ बिहिबार प्रशारण हुने गथ्र्यो । तराई मधेसका कृषक र तरकारी व्यवसायीका समस्या उजागर गर्ने र मनोरञ्जन पनि दिने उद्देश्यले यो कार्यक्रम डिजाइन गरिएको चौधरी बताउँछिन् ।
‘गोमाजी अनुभवी प्रस्तोता हुनुहुन्थ्यो । तर, यसमा बोल्नै नहुने कुराहरु बोल्नुभयो,’ उनले भनिन् । प्रत्येक दिन दिउँसो ३ बजे प्रशारण हुने यो कार्यक्रम लकडाउनसम्मका लागि मात्रै डिजाइन गरिएको थियो ।
प्रेस काउन्सीलले माग्यो प्रष्टिकरण
यस कार्यक्रमका विषयमा प्रेस काउन्सीलले कृषि टेलिभिजनलाई स्पष्टिकरण सोधेको छ । काउन्सीलको पत्रमा भनिएको छ, ‘यसले सिंगो समुदायप्रति असन्तुलित, जातजाति, धर्म, सम्प्रदाय, भाषा, संस्कृतिबीचको सम्बन्ध, सामाजिक सद्भावमा खलल पार्ने किसिमबाट सामाग्री सम्प्रेषण भएको देखियो ।’
काउन्सीलले प्रसारित सामग्रीको प्रकृति खुलाई क्षमायाचनासहित अबिलम्ब सामाजिक सञ्जालबाट उक्त सामग्री हटाउन भनेको छ । साथै, यस विषयमा ३ दिनभित्र स्पष्टिकरण पेश गर्न र आइन्दा यस प्रकृतिका भूल नदोहो¥याउने प्रतिवद्धता व्यक्त गर्नसमेत पत्रमा निर्देशन दिइएको छ ।
‘अन्यथा पत्रकार आचारसंहिता, प्रचलित ऐन, नियम, कानूनअनुसार थप कारवाही अगाडि बढाइने व्यहोरा अवगत गराइन्छ,’ काउन्सीलको पत्रमा भनिएको छ ।
कृषि टिभीकी कार्यकारी निर्देशक चौधरीले काउन्सीललाई चाँडै जवाफ पठाउने बताइन् ।
                  
                  

          तपाईंको स्थानीय ठाउँको समाचार प्रकाशन गर्नु परे हामीलाई अवस्य सम्झनु होस् 


“भरष्ट्राचार विरोध को एक मात्र आवाज The तातो post”

Leave a Reply

Your email address will not be published. Required fields are marked *