The तातो Post वीरगञ्ज , २१ वैशाख । वीरगञ्ज स्थित नारायणी अस्पताललाई कोरोना मुक्त अस्पताल बनाउनुपर्ने माग गर्दै नेपाली काँग्रेस जिल्ला कार्य समिति पर्साले विरोध प्रदर्शन गरेको छ । काँग्रेस पर्सा अध्यक्ष अजय द्विवेदीको नेतृत्वमा रहेको नेता तथा कार्यकर्ताहरुको समूहले नारायणी अस्पतालदेखि करिब १ सय मिटर उत्तरतर्फ मालपोत चोक स्थित मुख्य सडकमा लामबद्ध भएर विरोध प्रदर्शन गरेका थिए ।

‘नारायणी अस्पताललाई जोगाऔं, कोरोना अस्पताल अन्त बनाऔं, नारायणी अस्पतालमा जनताको स्वास्थ्य उपचार पुनः सुचारु होस्, कोरोना अस्पतालको लागि बैकल्पिक व्यवस्था गरौं’ लगायतका नारा लेखिएको प्लेकार्ड बोकी विहानको ११ः३० बजेदेखि १२ः०० बजेसम्म आधा घण्टा विरोध प्रदर्शन गरिएको थियो ।

दिनुहँ १ हजारदेखि १३ सयको हाराहारीमा विरामीहरुलाई चेकजाँच गर्ने नारायणी अस्पताललाई कोरोना अस्पताल घोषणा गरेर सर्वसाधारणहरुलाई मर्कामा पारिएको भन्दै सर्वसाधारणको स्वास्थ्यलाई ध्यानमा राखी तत्काल नारायणी अस्पताललाई जनरल अस्पताल बनाउनुपर्ने काँग्रेस पर्साका अध्यक्ष अजय द्विवेदीले बताउनुभयो ।

विश्वभरि कोरोनाको संक्रमण फैलिन थालेपछि प्रदेश २ सरकारले आफ्नो मातहतमा बीरगन्जमा कोरोना अस्पताल घोषणा गर्न नसकेपछि केन्द्र सरकारले वीरगञ्जस्थित नारायणी अस्पताललाई कोरोना अस्पताल घोषणा गरेको थियो । नारायणी अस्पताललाई कोरोना अस्पताल घोषणा गरेपछि वीरगञ्जको भेडियाही स्थित नेशनल मेडिकल कलेजलाई जनरल अस्पतालको रुपमा बनाइएको थियो तर त्यहाँ सर्वसाधारणहरु ठगिन थालेको विरोध उठ्न थालेपछि पुनः नारायणी अस्पताललाई जनरल अस्पताल बनाउनुपर्ने माग गर्दै नेका विरोधमा उत्रेको नेका पार्टीका नेता तथा पूर्वमन्त्री सुरेन्द्र चौधरीले बताउनुभयो ।

नेशनल मेडिकल कलेजमा खासै विरामीहरुको उपस्थिति नहुने गरेको कारण व्यक्ति विशेषको फाइदाका लागि मेडिकल कलेज र नारायणी अस्पतालका केही पदाधिकारीबीच ठूलो रकमको चलखेल भएको आरोप लगाउँदै पूर्वमन्त्री चौधरीले नारायणी अस्पतालमा आउने सम्पूर्ण विरामी अहिले बाध्य भएर नेशनल मेडिकल कलेज पुग्नु परेको बताउनु भयो । उहाँले १५ रुपैयाँ टिकट लाग्ने ठाउँमा १ सय ५० रुपैयाँ टिकटको किन्नु परिरहेको गुनासो गर्दै २ हजारमा ठीक हुने विरामीहरुलाई ८ देखि १० हजार रुपैयासम्म तिर्नुपर्ने बाध्यता रहेकोले नारायणी अस्पताललाई पुनः जनरल अस्पताल घोषणा गर्नुपर्ने बताउनुभयो ।

यसैगरी प्रदेश साँसद ओमप्रकाश शर्माले गरीब, निमुखा तथा सर्वसाधारणहरुले निःशुल्क सेवा पाउँदै आएको नारायणी अस्पताललाई कोरोना अस्पताल घोषणा गरेर ८ जना संक्रमितको कारण दिनहुँ सयौं विरामीहरु मर्कामा परिरहेको बताउनुभयो । प्रदेश २ को अस्थायी राजधानी जनकपुरमा रहेको र त्यहाँ प्रादेशिक कोरोना अस्पताल घोषणा गरिएपनि त्यहाँका विरामीहरुलाई वीरगञ्ज स्थित नारायणी अस्पतालमा उपचारको लागि प्रदेश सरकारले पठाएपछि सामाजिक सञ्जालमा विभिन्न टिकाटिप्पणी तथा विरोध पनि भइरहेका छन् ।

हाल नारायणी अस्पतालमा ८ जना कोरोना संक्रमित विरामीहरु उपचारार्थ छन् भने ४ जना डिस्चार्ज भइसकेका छन् । गत एक साता अगाडि मात्रै ३ जना भारतीय जमातीका व्यक्ति तथा १ जना गौरका १९ वर्षीय युवा पूर्णरुपमा निको भएर डिस्चार्ज भएपनि ति युवालाई पुनः गरिएको स्वाब परीक्षणमा शंकास्पद देखिएपछि शनिबार राति बीरगञ्ज स्थित नारायणी अस्पतालको आइसोलेसनमा ल्याइएको छ । ति युवा समेत गरी नारायणी अस्पतालको आइसोलेसनमा ९ जनाको उपचार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *