The तातो Post

जनकपुरधाम, वैशाख १९ गते ।
लकडाउनका कारण फलफुल तथा तरकारीले बजार नपाउने चिन्ताले जनकपुरका किसानहरु चिन्तित बनेका छन् । कोरोना संक्रमणका त्रासले सयममा औषधी छर्न नपाएका उनीहरु उत्पादित तरकारी तथा फलफुल बजार लान नपाएर समस्यामा परेका हुन् ।
प्रदेश नम्बर २ मा चैत, बैशाख र जेठ महिनामा सबै भन्दा बढि खर्बुजा, काक्रो, खिर्रो, लौका, करेला, फर्सी लगायतका फलफुल र तरकारी उत्पादन हुने गर्दछन् ।
यसबर्ष मौसम अनुकुल भएकाले उत्पादन वृद्धि भएको किसानहरुको भनाई छ ।
धनुषा जनकनन्दी गाउँपालिका वडानम्बर १ की वर्षिया जिलेबिया देवीसहनीले लकडाउनमा प्रहरीले बजार जान नदिएपछि फलफूल र तरकारी बिक्री गर्न नपाएको गुनासो गरिन् । भारतीय सिमाना ईनर्वा मलहनिया देखि पुर्व पश्चिम राजमार्ग सम्म खोलाले उकासेको करिब ३ हजार बिगाहा बढि जग्गामा धनुषा र सिरहाका १५ सय भन्दा बढि गरिब तथा विपन्नहरुले फलफुल र तरकारी वाली लगाएका छन् । विश्वभरि नै फैलिएको महामारी कोरोना भाइरसको संक्रमण हुन नदिन सरकारले चैत ११ गते लेखि नै मुलुकमा लकडाउन घोषणा गरेपछि व्यापारी र किसान बगरसम्म पुग्न नसक्दा लगानी समेत नउठने चिन्ताले पिरोलिएका छन् ।
उनले भनिन्– प्रहरीले बजार लग्नै दिदैँन । उब्जेको तरकारी तथा फलफुल खेतमै नष्ट हुने भयो ।
उनले २० हजार रुपैयाँ ऋण लिएर बगरमा खेती गरेपनि लगानी डुब्ने भन्दै चिन्ता बढेको बताइन् ।
कमला नदीमा मात्र बर्षेनी १० करोड रुपैयाँ भन्दा बढीको तरकारी तथा फलफुल उत्पादन हुदै आएको किसानहरुको भनाई छ ।
खोलाले उकासेको जग्गामा मिहिनेत गरेपछि राम्रै आम्दानी हुने आशमा निलगाई, बँदेल र स्याल धपाउनको लागि किसानहरु स–साना छाप्रो बनाएर रातदिन बगरमा बस्दै आएका छन् ।
कमला नगरपालिका बरेरवाका किसान सनक मुखियाले दिनरात मेहनत गरेर तरकारी तथा खरबुजा र काक्रो उब्जिाएपनि खेतमै सड्ने अवस्था सिर्जना भएको बताए । उनले भने, ‘ऋण काढेर खेती लगाएको थिए । अहिले खरबुजा र काक्रो तयार भएर बिक्री गर्ने बेला भएपनि बजार जाने अवस्था छैन । खेतमा उब्जिएको तरकारी तथा फलफुल खेतमै नष्ट भईरहेको छ ।’
व्याज मिनाहा गर्ने सरकारको निर्णय
वित्तिय सस्ंथाबाट ऋण लिएर कृषि कर्ममा लागेका किसानलाई राहत स्वरुप केहि व्याज मिनाहा गरिदिने प्रदेश सरकारको निर्णय छ ।
किसानले उब्जाएको तरकारी तथा फलफुलहरु लकडाउनका कारण बजार तथा उपभोक्तासम्म पुर्याउन नसकेकाले चिन्तित बनेको जानकारी पाए लगत्तै भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साहले किसानको अवस्था र तरकारी तथा फलफुल बालीको अनुगमन गरेको छ ।
मन्त्री साहले कमला नदीको बगर, कमला नगरपालिका, जनकनन्दनी गाउँपालिका र शहिदनगर नगरपालिकाका विभिन्न ठाउँ पुगेर किसानहरूको पीडा सुनेरसमस्या समाधानका बारेमा समेत छलफल गरेको बताए ।
त्यसक्रमममा उनले तरकारी तथा फलफुल ढुवानी तथा बजार व्यवस्थापनको व्यवस्था मिलाउने प्रतिवद्धता जनाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *