The तातो Post १९ बैशाख, काठमाडौं । रोल्पाको त्रिवेणी गाउँपालिकामा बिहीबार ४ जना बालबालिकाको ज्यान जाने गरी भएको घटनाबारे तत्काल अनुसन्धान गरी कारबाही प्रक्रिया अघि बढाउन नेपाली कांग्रेसले आग्रह गरेको छ ।

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति निकालेर बेवारिसे बम राख्नेको खोजी गर्नुपर्ने र दोषीलाई तत्काल कारबाही गर्नुपर्ने माग गरेका हुन् ।

बिहीबार रोल्पाको त्रिवेणी गाउँपालिकामा बाख्रा चराउन गएको बेला बेवारिसे बम विस्फोट हुँदा रोल्पाको त्रिवेणी गाउँपालिका–७ गैरिगाउँमा ४ बालबालिकाको ज्यान गएको थियो ।

विस्फोटमा गैरिगाउँ ७ का एकै घरका दिदीभाइ ११ वर्षीया विमला केसी र ५ वर्षका विजय केसीसहित छिमेकी १४ वर्षका नोखिराम डाँगी र १३ वर्षका गौरव नेपालीको ज्यान गएको थियो ।

विस्फोट भएको बम सशस्त्र द्वन्द्वको बेला जंगलमा लुकाइएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । देशका अरु ठाउँमा पनि यस्ता बेवासिरे बम रहेको हुनसक्ने भएकोले खोजेर निष्क्रिय पार्न नेपाली कांग्रेसको आग्रह छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *