The तातो Post २७ बैशाख, काठमाडाैँ ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले परिस्थितिवशः भारतले मिचेको नेपाली भूमिसहितको नक्सा सार्वजनिक गर्ने अवस्था नरहेको बताएकी छन् । 

नेपालको आधिकारिक नक्सा सरकारले कहिले सार्वजनिक गर्छ भनेर चासो राख्दा मन्त्री अर्यालले भनिन्, ‘नक्सा सार्वजनिक तयारी केही पनि भएको छैन । परिस्थितिले रोकिइरहेको छ ।’ उनले परिस्थिती भनेर कोरोना भाईरस संक्रमणलाई औँल्याएकी छिन् । 

नेपाल–भारतको सीमा विवाद कूटनीतिक रूपमा समाधान हुने अर्यालको दाबी छ ।

भारतसँग बारम्बार सीमा विवाद हुँदा र संसदीय समितिहरुले निर्देशन दिँदा पनि नेपालले सुगौली सन्धि (सन् १८१६) को आधारमा नक्सा सार्वजनिक गर्ने कुनै तयारी गरेको छैन । 

मन्त्री अर्यालले गत मंसिर र पुसमा संसदीय समिति र सीमाबारे सरोकार राख्ने नागरिक समाजका व्यक्ति तथा समूहहरूसँगको छलफलमा उपयुक्त समय आएपछि नक्सा सार्वजनिक गरिने प्रतिबद्धता व्यक्त गरेकी थिइन् । 

तर, ६ महिना बितिसक्दा र भारतले त्यो क्षेत्र भएर सडक नै निर्माण गरिसक्दा पनि नक्सा सार्वजनिक गर्ने सरकारको सुरसार छैन ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले नेपाली भूमि आफ्नो नक्सामा राखेपछि सार्वजनिक मञ्च र संसदमा नेपाली भूमि नै फिर्ता ल्याउन सरकार लागेकाले कागजको नक्सा छाप्न आवश्यक नभएको अभिव्यक्ति दिएका थिए । यसबीच फेरि नेपाल–भारतबीचको सीमा विवाद बढेको छ । 

भारतले शुक्रबार लिपुलेक भएर सडक निर्माण सम्पन्न गरी रक्षामन्त्री राजनाथ सिंहले उद्घाटन गरेपछि विवाद बल्झिएको हो ।

सडक निर्माण भारतले पहिलेदेखि नै थालेको उनको भनाइ छ । ‘सडक निर्माण आजको कुरा होइन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०१५ मा चीन भ्रमणका क्रममा नेपाललाई बाहिर राखेर भारत(चीनबीच भएको सम्झौताअनुसार भारतले सडक बनाएको हो । 

नेपालले उक्त सम्झौताको हिजोदेखि नै विरोध गर्दै आएको हो । यी सबै विवाद कूटनीतिक हिसाबले नै समाधान गर्ने विषय हुन्,’ उनले भनिन् ।भारतले सडक निर्माण गरेको विषयमा संसदीय समितिमा आइतबार नै सरकारले आफ्ना धारणा राख्ने उनले बताइन् ।

यसैबीच, परराष्ट्र मन्त्रालयले भारतले नेपाली भूमिमा सडक निर्माण गरेपछि शनिबार विज्ञप्ति जारी गरेर प्रतिक्रिया जनाएको छ । नेपाली भूमिमा कुनै पनि प्रकारका गतिविधि नगर्न नेपालले भारतलाई भनेको हो । 

सीमा बचाउ अभियान, विभिन्न राजनीतिक दलका नेताहरूले पनि भारतले नेपाली भूमिमा गरेको सडक निर्माणको विरोध गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *