The तातो Post २२ बैशाख, काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले यही वैशाख २६ गतेबाट नयाँ सत्रका निम्ति विद्यार्थी भर्ना सुरु हुने बताएका छन् ।

कक्षा ८ को जिल्ला स्तरीय परीक्षा भएकाले नतिजा प्रकाशनमा केही समस्या आएमा चाँडो निकास दिइने मन्त्री पोखरेलले बताए । मन्त्री पोखरेलले सामुदायिक (सरकारी) विद्यालयमा लागू हुने पाठ्यपुस्तक तत्काल सम्बन्धित जिल्लामा पुर्‍याउन जनक शिक्षा सामग्री केन्द्रलाई निर्देशन दिएको समेत बताए । शिक्षक महासंघका अध्यक्ष बाबुराम थापाले अधिकांश सामुदायिक विद्यालयले नतिजा प्रकाशन गरिसकेको बताए ।

पाठ्यपुस्तक ढिलो पुग्‍ने भएकाले मन्त्रालयले प्रत्येक विद्यालयका प्रधानाध्यापकलाई ‘सफ्ट कपी’उपलब्ध गराउनु पर्ने उनले बताए । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)का अध्यक्ष टीकाराम पुरीले वैशाख २५ गतेको पर्खाइमा रहेको बताए ।

त्यसैगरी नेसनल प्याब्सनका अध्यक्ष ऋतुराज सापकोटाले अधिकांश विद्यालयले अनलाइनबाट नतिजा प्रकाशन गरेको र नयाँ भर्नाको तयारीमा जुटेको बताए । अभिभावकले तत्काल बजारमा पाठ्यपुस्तक पाउन नसक्ने उनले बताए ।

निजी विद्यालयले मुनाफा कमाउने उद्देश्यले हरेक वर्ष पाठ्यपुस्तक फरक फरक प्रकाशकसित सम्झौता गरेर लागू गर्दछन् । त्यसैगरी विद्यार्थीको पोसाक, पाठ्यपुस्तकसमेत विद्यालयले भनेकै ठाउँमा मात्र खरिद गर्नुपर्ने बाध्यता रहँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *