The तातो Post

The तातो Post काठमाण्डु,११ बैशाख। प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय जनता पार्टी(राजपा)नेपाल र समाजवादी पार्टी फुटाउन ल्याएको अध्यादेशको औचित्यलाई चुनौतीदिदै दुवै पार्टी एकिकरण भएकोछ । पार्टी विभाजनको संघारमा पुगिसकेको समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच एकिकरण भएकोछ ।

राजपा अध्यक्ष मण्डलका संयोजक शरतसिंह भण्डारीको निवासमा अबेर राती सम्म चलेको समाजवादी र राजपा शीर्ष नेताहरुको बैठकले पार्टी एकिकरणको निर्णय गरेकोछ । एकिकृत पार्टीको नाम समाजवादी जनता पार्टी र चुनाव चिन्ह छाता छाप राख्ने निर्णय भएकोछ ।समाजवादीले प्रयोग गरेको पार्टीको दुई रंगमा एउटा तारा अंकित झण्डा नै रहनेछ । दुवै पार्टीका शीर्ष नेताहरुको बैठकले पार्टीको नाम, झण्डा र चुनाव चिन्ह टुंग्याउँदै विहिवार निर्वाचन आयोग र प्रतिनिधि सभा सचिवालयलाई पार्टी एकिकरण भएको जानकारी दिने निर्णय गरेकोछ ।

 पार्टी एकिकरणको बैठकमा राजपा अध्यक्ष मण्डलका सदस्यद्वय राजकिसोर यादव र अनिल झा सहभागि थिएनन् ।उच्चस्रोतका अनुसार बैठकमा अध्यक्ष मण्डलका संयोजक भण्डारी, सदस्यहरु महन्थ ठाकुर, राजेन्द्र महतो र महेन्द्र राय यादव सहभागि थिए ।पदाधिकारी लगायतका विषयहरुमा पछि छलफलबाट टुंगो लगाइने बताइएको छ । राजकिसोर यादव र अनिल झाले पार्टी फुटाएर सरकारमा सहभागि हुने तयारीमा जुटेका थिए ।उनीहरुको पक्षमा हालै राष्ट्रिय सभाका सदस्य निर्वाचित भएका मृगेन्द्र सिंह यादव‘राजबाबु’पनि रहेका छन् । दुवै पार्टीलाई विभाजन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले सोमवार पार्टी फुटाउने कानुनलाई खुकुलो बनाउन अध्यादेश ल्याएका थिए ।

अध्यादेश आए लगतै समाजवादी पार्टी फुटाउन रेणु यादवको नेतृत्वमा ९ जना सांसदले हस्ताक्षर समेत गरिसकेका थिए । प्रधानमन्त्री ओलीले ल्याएको अध्यादेशको सत्तारुढ दल नेकपा भित्रपनि व्यापक आलोचना भएको थियो ।नेकपाकै पूर्व माओवादीका नेता, अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ , वरिष्ठ नेताहरु माधवकुमार नेपाल र झलनाथ खनाल लगायतका नेताहरु त्रसित भएका थिए ।उनीहरुले नेकपा फुटाउन नै प्रधानमन्त्रीले अध्यादेश ल्याएको आशंका गरेका थिए ।यद्यपी प्रधानमन्त्री ओलीले बैठकमा नै मधेशी दल फुटाउन नेताहरुले गरेको आग्रह अनुसार अध्यादेश ल्याएर सहज बनाइदिएको प्रष्टिकरण दिएका थिए । प्रधानमन्त्री ओलीले भने जस्तै समाजवादी पार्टी विभाजनका लागि ९ जना सांसदले हस्ताक्षर समेत गरिसकेका थिए ।

पार्टीकी उपाध्यक्ष रेणु यादवको अगुवाईमा इस्तियाक राइन, विमल श्रीवास्तव, उमाशंकर अरगडिया, प्रदीप यादव, फुलदेवी विश्वकर्मा लगायत रहेको बताइएको छ ।राइन ओली सरकारमा मन्त्री थिए ।अरगडिया पार्टीका प्रमुख सचेक हुन् ।स्रोतहरुका अनुसार असन्तुष्ट सांसदहरुले पुरानै दल मधेशी जनअधिकार फोरम नेपाल र मसाल चिन्ह राखेर पार्टी दर्ता गराउने तयारी गरेका थिए । ओली सरकारमा रेणु यादव र इस्तियाक राइनलाई मन्त्री बनाइने र एकजनालाई उपसभामुख बनाइने सहमति भएको थियो । एकजनालाई राज्यमन्त्री बनाइने र अन्यलाई योजनाहरु दिने आश्वासन दिइएको थियो ।

 समाजवादी पार्टीका ९ जनाले सांसदले पार्टी फुटाउने तयारीमा जुटे जस्तै राजपाका ७ जनालेपनि पार्टी फुटाउन हस्ताक्षर गरिसकेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *