The तातो Post सर्लाही, वैशाख १३ गते ।  कोरोना भाइरस (कोभिड–१९) संक्रमित बालकको परिवारसहित विभिन्न स्थानका ११६ जनाको स्वाब सङ्कलन गरिएको छ । काठमाण्डौंबाट आएको स्वास्थ्यकर्मीहरुको टोलीले शुक्रवार राती अबेरसम्म फिल्डमै खटिएर जिल्लाको चन्द्रनगर गाउँपालिकामा ७५ जना, धनकौल गाउँपालिकामा २६ जना र ईश्वरपुर नगरपालिकामा १५ जनाको थ्रोट स्वाब सङ्कलन गरेको हो ।

 कोरोना संक्रमित धनकौल गाउँपालिका–५, हरकठवाका १४ वर्षीय बालकका परिवार तथा केही छरछिमेकी र लकडाउन चल्दाचल्दै भारतबाट आएर चन्द्रनगर गाउँपालिका एवं ईश्वरपुर नगरपालिकाको क्वारेन्टाईनमा बसिरहेकाहरुको घाँटीको स्वाब सङ्कलन गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनहबहादुर जिसीले जानकारी दिनुभयो । सङ्कलित स्वाब पीसीआर विधीबाट परीक्षणका लागि आज शनिवार काठमाण्डौं पठाउने तयारी भइरहको प्रजिअ जिसीले बताउनु भएको छ ।

उहाँका अनुसार कोरोना संक्रमित फेला परेपछि धनकौल गाउँपालिकाको हरकठवा क्षेत्रमा बिहिवार देखि नै उच्च सतर्कता अपनाइएको छ । हरकठवा गाउँलाई शील गरी सुरक्षाकर्मीको नियन्त्रणमा राखिएको छ । संक्रमित बालकको नारायणी उप–क्षेत्रीय अस्पताल वीरगञ्जमा उपचार भइरहेको छ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *