The तातो Post २३ बैशाख, बिर्तामोड । नेपाल–भारत सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीमाथि सोमवार साँझ भारतीय नागरिकले आक्रमणको प्रयास गरेका छन् । झापा गाउँपालिकास्थित १३१ नम्बर पिल्लरनजिकको सशस्त्र प्रहरी क्याम्पमा आक्रमण प्रयास भएको हो ।

डेढ सय बढी भारतीय घरेलु हतियार बोकेर क्याम्प आएका थिए । स्थिति नियन्त्रणमा लिन प्रहरीले दुई राउन्ड हवाई फायर गर्नुपरेको सहायक प्रमुख जिल्ला अधिकारी राजकुमार राईले जानकारी दिए । हवाई फायरपछि उनीहरु तितरबितर भएका थिए ।

प्रजिअ राईका अनुसार सोमबार साँझ ५ बजेतिर दुई भारतीय नेपाल प्रवेश गर्न खोजेपछि प्रहरीले उनीहरूलाई सम्झाएर भारततिरै फर्काइदिएका थिए । त्यसको केही बेरमै उनीहरू गाउँलेसहित हतियार बोकेर आएका थिए ।

झापासँगको सीमामा भारतीय नागरिकले नेपाली सुरक्षाकर्मीमाथि आक्रमण प्रयास गरेको यो दोस्रो घटना हो । साताअघि कचनकवल गाउँपालिका–४ स्थित सीमाक्षेत्रमा पनि बलजफ्ती नेपाल पस्न खोजेका केही भारतीयले प्रहरीमाथि आक्रमण प्रयास गरेका थिए । त्यस क्रममा भारतीयको हँसियाले लागेर एक प्रहरीलाई सामान्य चोटसमेत लागेको थियो ।

सीमा क्षेत्रमा नेपाली सुरक्षाकर्मीमाथि आक्रमण हुने क्रम बढेकाले तत्काल जिल्ला सुरक्षा समितिको बैठक बसेर ठोस निर्णय गर्ने तयारी भइरहेको प्रजिअ राईले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *